Wednesday, September 30, 2026 | 9:18 PM

नेवार र नेपालभाषा


अ
अ+
अ-

जसरी तामाङको तामाङ भाषा, मगरको मगर भाषा, गुरुङको गुरुङ भाषा हुन्छ, त्यसरी नै नेवारको नेवार भाषा हो । नेवार भाषालाई फेरि ‘नेपालभाषा’ किन भनिन्छ ? लेखपढ तथा बोलिचालीमा नेपालभाषा’ नाम किन प्रयुक्त भइरहन्छ ? धेरैको मथिङ्गलमा यो प्रश्न रहेको हुनसक्छ । ‘नेवार’ र ‘नेपाल’ दुई बेग्लाबेग्लै शब्द नभएर एउटै शब्दको दुई रूप हो । ‘नेपाल’ आफै मौलिक रूप नभएको र नेवार, नेवाल, नेपारबाटै ‘नेपाल’ नाम रुढ हुन गएको बताइन्छ । ऐतिहासिक श्रोतहरूमा यो समुदायको भाषाको नाम ‘नेपालभाषा’ भनेर राखिएका हुँदा नेवारहरू अनौपचारिक रूपमा नेवार भाषा (नेवाः भाय्) र औपचारिक रूपमा नेपालभाषा भन्न मन पराउँछन् । 

नेपालभाषा नेवार इतिहासको सबैभन्दा महत्वपूर्ण प्रमाणमध्ये एक हो । नेवारको प्राचीनता बुझ्न पनि यो भाषा अत्यन्त महत्वपूर्ण प्रमाण हो । यो तिब्बती–बर्मेली भाषा परिवारमा पर्दछ । तिब्बती–बर्मेली भाषा परिवारमा पर्ने भाषा भनेपछि कतिपय नेवार नै अथवा गैरनेवार छक्क पर्ने गरेको पनि पाइन्छ । बोलिचाली तथा लेखपढमा प्रयोग हुने प्रायः शब्दहरू भारतीय संस्कृत–प्राकृत भाषिक संसारसँग मिल्ने, अनि कसरी तिब्बती–बर्मेली भाषा परिवारको हुने ? यस प्रश्नको जवाफ यसरी दिन सकिन्छ, तिब्बती–बर्मेली भाषा परिवारको भएपनि यो भाषा बोल्ने नेवारको सम्पर्क उत्तरी हिमाली क्षेत्रसँग मात्रै होइन, दक्षिणी भारतीय संस्कृत–प्राकृत भाषिक संसारसँग पनि रह्यो । अझ भनौं, दक्षिणी क्षेत्रसँग सामाजिक, सांस्कृतिक, राजनीतिक, व्यापारिक तथा अन्य धेरै क्षेत्रमा अत्यन्त गहिरो सम्पर्क रहन पुग्दा नेपालभाषामा संस्कृत तथा अन्य इन्डो–आर्यन भाषाबाट ठूलो मात्रामा शब्दहरू भित्रियो । त्यसैले यसको भाषिक संरचना र शब्दभण्डार हेर्दा स्थानीय हिमाली र दक्षिण एशियाली दुवै प्रभाव देखिन्छ ।

नेपालको इतिहास अध्ययनको श्रोत सामग्रीहरूमा पुराना पुराना शिलालेखहरू पनि हुन् । हालसम्म प्राप्त शिलालेखहरू लिच्छविकालभन्दा पुराना भेटिएका छैनन् । यी लिच्छविकालीन शिलालेखहरू सबै संस्कृत भाषा हुन् । शिलालेख संस्कृत भाषामा हुनुको अर्थ तत्कालिन जनजीवनको दैनिक बोलिचालीको भाषा पनि संस्कृत नै हुन्थ्यो भन्ने होइन । नेपाल, भारत, कम्बोडिया, लाओस लगायतका कतिपय देशहरूमा बोलिचालीमा बेग्लै भाषा भएपनि शिलालेख राख्दा संस्कृत भाषामा राख्ने गरेको पाइन्छ । तत्कालिन समाजमा संस्कृत भाषालाई यही रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । नेपालको हकमा शिलालेख संस्कृत भएपनि त्यसभित्र प्रयुक्त कतिपय गाउँठाउँ, नदीनाला, पहाड तथा अड्डाअदालतका नामहरू गैर संस्कृत भाषामा रहेका छन् । सुरुमा यी गैरसंस्कृत शब्दलाई किराँत बोली भन्ने गरिएको थियो तर प्रा.डा. कमलप्रकाश मल्लले यी गैरसंस्कृत शब्दहरू प्राचीन नेपालभाषाका हुन् भनेर किटान गरिदिएका छन् । ती गैरसंस्कृत शब्दहरूको गणना गर्दा २५० पुगेको थियो भने त्यसपछिका प्राप्त शिलालेखहरूमा प्रयुक्त शब्द समेत गन्दा अब २५० भन्दा बढी पुगेको मान्नु पर्दछ । यसको अर्थ हो, नेपालको इतिहासमा लिच्छविराजवंशले राज्यसत्ता कायम गर्नुअघि नै नेपालमा सुव्यवस्थित शासन व्यवस्था थियो, समाजलाई चाहिने आवश्यक निकायहरू पनि थियो । त्यति बेला यी निकायका नामहरू स्थानिय भाषामा नै राखिएको हुन्थ्यो र गाउँठाउँ तथा नदीनाला एवं पहाडपर्वतहरूको नाम पनि स्थानिय भाषामा नै राखिन्थ्यो ।

कतिपय शब्दको अर्थ अहिले ठम्याउन सकिएको छ, कतिपयको सन्दर्भमा हम्मेहम्मे परिरहेको छ । तीमध्ये कतिपय अर्थ ठम्याउन नसकेपनि चलनचल्तीमा छन् । कतिपय शब्दको रूप बिग्रेर वा बिगारेर अर्कै बनेको छ । उदाहरणका लागि काठमाडौंको एउटा प्राचीन वस्ती कीर्तिपुरलाई लिन सकिन्छ । कीर्तिपुर संस्कृत शब्द देखिन्छ तर यो आफ्नै मौलिक नाम नभएर संस्कृतकरण भएको हो । यसको मौलिक नाम ‘किपुलि’ हो भने यसको सदृष्य नाम ‘किपू’ अहिले पनि स्थानीय नेवार समाजमा प्रचलित नै छ । नेवार भूमिमा रहेका प्राचीन नामहरू चलनचल्तीमा नै रहेपनि अर्थ ठम्याउन सकिएको छैन, भोलिका दिनमा सकिएला कि भन्ने आस भने छ । लिच्छविहरूले संस्कृतभाषामा शिलालेख राखेपनि नाम वाचक स्थानिय शब्दहरूलाई विस्थापन गर्न सकिएको थिएन, प्रचलनमा जे थियो त्यही राखेको बुझ्न सकिन्छ । र, अहिले संस्कृत शिलालेखमा प्रयुक्त गैरसंस्कृत शब्दहरूको आधारमा यसको प्राचीनता अध्ययन गर्न मद्दत पुगेको छ । 

नेवार समाजमा प्रचलित नेपालभाषा तिब्बती–बर्मेली भाषा परिवारको हुँदाहुँदै पनि यसमा संस्कृत तथा अन्य इन्डो–आर्यन भाषापरिवारका शब्दहरू कहिलेबाट घुल्न आइपुग्यो भन्ने प्रश्नको जवाफ ठ्याक्कै दिन सकिन्न । प्राप्त शिलालेखहरू लिच्छविकालका हुन् तर यिनीहरूभन्दा अघिका शासक वर्मावंशका थिए । वर्मावंशको राज्यकालमा भएका घटना र प्रवृत्ति नियाल्दा यिनीहरू लिच्छविभन्दा फरक नभएको देखिन्छ  । उपत्यकामा चार नारायण भनी विशंखुनारायण, इचंगुनारायण, शेषनारायण, चाँगुनारायण स्थापना गरेका थिए । यति बेला नै वैष्णव मतवाद काठमाडौंमा प्रवेश गरेको देखिन आउँछ । किराँतहरूको शासन व्यवस्था भनिएपनि त्यसको कुनै ऐतिहासिक प्रमाण त पाइँदैन तर तर त्यसलाई वर्मावंश अघि राखेर हेर्दापनि त्यति तत्कालिन नेपाल धेरै मात्रामा दक्षिणको सम्पर्कमा आइसकेको देखिन्छ । गौतम बुद्ध नेपालमा आएको त देखिन्न तर बौद्ध भिक्षुहरू भने नेपालमा आउजाउ गरेको पाइन्छ । ती वर्णनहरूअनुसार त्यति बेला नै बौद्ध धर्मावलम्बीहरूको एउटा बनिबनाउ समाज नेपालमा बनिसकेको पाइन्छ । व्यापार गर्न आउने व्यापारीहरू यहाँ स्थायी रूपमा बस्न थालेको पनि देखिन्छ । गौतम बुद्धकै जीवनकालमा कोशल महाजनपदको आक्रमणबाट शाक्य जनपदका शाक्यहरू यताउता भाग्ने क्रममा तत्कालिन नेपाल अर्थात हालको काठमाडौं उपत्यकामा पसेका थिए । यसको अर्थ शाक्यहरू यही बेलामात्रै यहाँ प्रवेश गरेका भन्ने अर्थ लाग्दैन, यसअघि देखि नै शाक्यहरूको बसोवास काठमाडौंमा रहेको र भाग्ने क्रममा नातागोता खोज्दै काठमाडौं आएको भन्न सकिन्छ । यी कुराहरू खोतल्नुको उद्देश्य गौतम बुद्धको समयअघि नै काठमाडौंको नेवार जनजीवन दक्षिण भारतमा प्रचलित भाषा, धर्म, संस्कृति तथा संस्कार संस्कृतिसँग परिचित भइसकेको तथा अन्तरक्रिया पनि प्रसस्त मात्रामा हुन्थ्यो भन्नलाई हो । 

नेपालभाषाको अध्ययनबाट के जानियो भने, यस भाषामा गैरसंस्कृत द्राविड, कोललगायतका शब्दहरू पनि रहेछन् । संभवतः ती जातीय समुदायको प्रवेश काठमाडौं उपत्यकामा भयो र यहाँ एसिमिलेशन पनि हुनपुग्यो । आजको दिनमा नेवारको नेपालभाषाले आफ्नो भाषिक मौलिकता कायम नै राख्दै दक्षिणका संस्कृतलगायत भाषासँग भिज्दै वर्तमान स्वरूप ग्रहण गरेको छ । भाषाकै माध्यमबाट पनि नेवार इतिहास खोतल्न सकिन्छ, तसर्थ नेवारका लागि नेपालभाषा अत्यन्तै महत्वपूर्ण रहेको छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
नेवारबाट सिकौं, बाढीबाट बचौं

नेवारबाट सिकौं, बाढीबाट बचौं

बाढी, पहिरो, भुइँचालोलगायतका प्राकृतिक प्रकोपहरू जब मानवीय क्षतीको स्तरमा......

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्य क्षेत्रका लेखक, कवि, कलाकार तथा भाषासेवीहरू प्रत्येक वर्ष यँलागा द्वितीयाको दिन विहान एक ठाउँमा भेला ह...

The context of Kirat in the context of Newar

The context of Kirat in the context of Newar

When discussing the history of Kathmandu Valley or Newar, the context of Kirat also comes up. Newar history cannot be ad...

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...

The search for history in the story of Yanya (Indrajatra)

The search for history in the story of Yanya (Indrajatra)

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

When a Newa started insulting a Newar

When a Newa started insulting a Newar

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्