नेवार र नेपालभाषा
जसरी तामाङको तामाङ भाषा, मगरको मगर भाषा, गुरुङको गुरुङ भाषा हुन्छ, त्यसरी नै नेवारको नेवार भाषा हो । नेवार भाषालाई फेरि ‘नेपालभाषा’ किन भनिन्छ ? लेखपढ तथा बोलिचालीमा नेपालभाषा’ नाम किन प्रयुक्त भइरहन्छ ? धेरैको मथिङ्गलमा यो प्रश्न रहेको हुनसक्छ । ‘नेवार’ र ‘नेपाल’ दुई बेग्लाबेग्लै शब्द नभएर एउटै शब्दको दुई रूप हो । ‘नेपाल’ आफै मौलिक रूप नभएको र नेवार, नेवाल, नेपारबाटै ‘नेपाल’ नाम रुढ हुन गएको बताइन्छ । ऐतिहासिक श्रोतहरूमा यो समुदायको भाषाको नाम ‘नेपालभाषा’ भनेर राखिएका हुँदा नेवारहरू अनौपचारिक रूपमा नेवार भाषा (नेवाः भाय्) र औपचारिक रूपमा नेपालभाषा भन्न मन पराउँछन् ।
नेपालभाषा नेवार इतिहासको सबैभन्दा महत्वपूर्ण प्रमाणमध्ये एक हो । नेवारको प्राचीनता बुझ्न पनि यो भाषा अत्यन्त महत्वपूर्ण प्रमाण हो । यो तिब्बती–बर्मेली भाषा परिवारमा पर्दछ । तिब्बती–बर्मेली भाषा परिवारमा पर्ने भाषा भनेपछि कतिपय नेवार नै अथवा गैरनेवार छक्क पर्ने गरेको पनि पाइन्छ । बोलिचाली तथा लेखपढमा प्रयोग हुने प्रायः शब्दहरू भारतीय संस्कृत–प्राकृत भाषिक संसारसँग मिल्ने, अनि कसरी तिब्बती–बर्मेली भाषा परिवारको हुने ? यस प्रश्नको जवाफ यसरी दिन सकिन्छ, तिब्बती–बर्मेली भाषा परिवारको भएपनि यो भाषा बोल्ने नेवारको सम्पर्क उत्तरी हिमाली क्षेत्रसँग मात्रै होइन, दक्षिणी भारतीय संस्कृत–प्राकृत भाषिक संसारसँग पनि रह्यो । अझ भनौं, दक्षिणी क्षेत्रसँग सामाजिक, सांस्कृतिक, राजनीतिक, व्यापारिक तथा अन्य धेरै क्षेत्रमा अत्यन्त गहिरो सम्पर्क रहन पुग्दा नेपालभाषामा संस्कृत तथा अन्य इन्डो–आर्यन भाषाबाट ठूलो मात्रामा शब्दहरू भित्रियो । त्यसैले यसको भाषिक संरचना र शब्दभण्डार हेर्दा स्थानीय हिमाली र दक्षिण एशियाली दुवै प्रभाव देखिन्छ ।
नेपालको इतिहास अध्ययनको श्रोत सामग्रीहरूमा पुराना पुराना शिलालेखहरू पनि हुन् । हालसम्म प्राप्त शिलालेखहरू लिच्छविकालभन्दा पुराना भेटिएका छैनन् । यी लिच्छविकालीन शिलालेखहरू सबै संस्कृत भाषा हुन् । शिलालेख संस्कृत भाषामा हुनुको अर्थ तत्कालिन जनजीवनको दैनिक बोलिचालीको भाषा पनि संस्कृत नै हुन्थ्यो भन्ने होइन । नेपाल, भारत, कम्बोडिया, लाओस लगायतका कतिपय देशहरूमा बोलिचालीमा बेग्लै भाषा भएपनि शिलालेख राख्दा संस्कृत भाषामा राख्ने गरेको पाइन्छ । तत्कालिन समाजमा संस्कृत भाषालाई यही रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । नेपालको हकमा शिलालेख संस्कृत भएपनि त्यसभित्र प्रयुक्त कतिपय गाउँठाउँ, नदीनाला, पहाड तथा अड्डाअदालतका नामहरू गैर संस्कृत भाषामा रहेका छन् । सुरुमा यी गैरसंस्कृत शब्दलाई किराँत बोली भन्ने गरिएको थियो तर प्रा.डा. कमलप्रकाश मल्लले यी गैरसंस्कृत शब्दहरू प्राचीन नेपालभाषाका हुन् भनेर किटान गरिदिएका छन् । ती गैरसंस्कृत शब्दहरूको गणना गर्दा २५० पुगेको थियो भने त्यसपछिका प्राप्त शिलालेखहरूमा प्रयुक्त शब्द समेत गन्दा अब २५० भन्दा बढी पुगेको मान्नु पर्दछ । यसको अर्थ हो, नेपालको इतिहासमा लिच्छविराजवंशले राज्यसत्ता कायम गर्नुअघि नै नेपालमा सुव्यवस्थित शासन व्यवस्था थियो, समाजलाई चाहिने आवश्यक निकायहरू पनि थियो । त्यति बेला यी निकायका नामहरू स्थानिय भाषामा नै राखिएको हुन्थ्यो र गाउँठाउँ तथा नदीनाला एवं पहाडपर्वतहरूको नाम पनि स्थानिय भाषामा नै राखिन्थ्यो ।
कतिपय शब्दको अर्थ अहिले ठम्याउन सकिएको छ, कतिपयको सन्दर्भमा हम्मेहम्मे परिरहेको छ । तीमध्ये कतिपय अर्थ ठम्याउन नसकेपनि चलनचल्तीमा छन् । कतिपय शब्दको रूप बिग्रेर वा बिगारेर अर्कै बनेको छ । उदाहरणका लागि काठमाडौंको एउटा प्राचीन वस्ती कीर्तिपुरलाई लिन सकिन्छ । कीर्तिपुर संस्कृत शब्द देखिन्छ तर यो आफ्नै मौलिक नाम नभएर संस्कृतकरण भएको हो । यसको मौलिक नाम ‘किपुलि’ हो भने यसको सदृष्य नाम ‘किपू’ अहिले पनि स्थानीय नेवार समाजमा प्रचलित नै छ । नेवार भूमिमा रहेका प्राचीन नामहरू चलनचल्तीमा नै रहेपनि अर्थ ठम्याउन सकिएको छैन, भोलिका दिनमा सकिएला कि भन्ने आस भने छ । लिच्छविहरूले संस्कृतभाषामा शिलालेख राखेपनि नाम वाचक स्थानिय शब्दहरूलाई विस्थापन गर्न सकिएको थिएन, प्रचलनमा जे थियो त्यही राखेको बुझ्न सकिन्छ । र, अहिले संस्कृत शिलालेखमा प्रयुक्त गैरसंस्कृत शब्दहरूको आधारमा यसको प्राचीनता अध्ययन गर्न मद्दत पुगेको छ ।
नेवार समाजमा प्रचलित नेपालभाषा तिब्बती–बर्मेली भाषा परिवारको हुँदाहुँदै पनि यसमा संस्कृत तथा अन्य इन्डो–आर्यन भाषापरिवारका शब्दहरू कहिलेबाट घुल्न आइपुग्यो भन्ने प्रश्नको जवाफ ठ्याक्कै दिन सकिन्न । प्राप्त शिलालेखहरू लिच्छविकालका हुन् तर यिनीहरूभन्दा अघिका शासक वर्मावंशका थिए । वर्मावंशको राज्यकालमा भएका घटना र प्रवृत्ति नियाल्दा यिनीहरू लिच्छविभन्दा फरक नभएको देखिन्छ । उपत्यकामा चार नारायण भनी विशंखुनारायण, इचंगुनारायण, शेषनारायण, चाँगुनारायण स्थापना गरेका थिए । यति बेला नै वैष्णव मतवाद काठमाडौंमा प्रवेश गरेको देखिन आउँछ । किराँतहरूको शासन व्यवस्था भनिएपनि त्यसको कुनै ऐतिहासिक प्रमाण त पाइँदैन तर तर त्यसलाई वर्मावंश अघि राखेर हेर्दापनि त्यति तत्कालिन नेपाल धेरै मात्रामा दक्षिणको सम्पर्कमा आइसकेको देखिन्छ । गौतम बुद्ध नेपालमा आएको त देखिन्न तर बौद्ध भिक्षुहरू भने नेपालमा आउजाउ गरेको पाइन्छ । ती वर्णनहरूअनुसार त्यति बेला नै बौद्ध धर्मावलम्बीहरूको एउटा बनिबनाउ समाज नेपालमा बनिसकेको पाइन्छ । व्यापार गर्न आउने व्यापारीहरू यहाँ स्थायी रूपमा बस्न थालेको पनि देखिन्छ । गौतम बुद्धकै जीवनकालमा कोशल महाजनपदको आक्रमणबाट शाक्य जनपदका शाक्यहरू यताउता भाग्ने क्रममा तत्कालिन नेपाल अर्थात हालको काठमाडौं उपत्यकामा पसेका थिए । यसको अर्थ शाक्यहरू यही बेलामात्रै यहाँ प्रवेश गरेका भन्ने अर्थ लाग्दैन, यसअघि देखि नै शाक्यहरूको बसोवास काठमाडौंमा रहेको र भाग्ने क्रममा नातागोता खोज्दै काठमाडौं आएको भन्न सकिन्छ । यी कुराहरू खोतल्नुको उद्देश्य गौतम बुद्धको समयअघि नै काठमाडौंको नेवार जनजीवन दक्षिण भारतमा प्रचलित भाषा, धर्म, संस्कृति तथा संस्कार संस्कृतिसँग परिचित भइसकेको तथा अन्तरक्रिया पनि प्रसस्त मात्रामा हुन्थ्यो भन्नलाई हो ।
नेपालभाषाको अध्ययनबाट के जानियो भने, यस भाषामा गैरसंस्कृत द्राविड, कोललगायतका शब्दहरू पनि रहेछन् । संभवतः ती जातीय समुदायको प्रवेश काठमाडौं उपत्यकामा भयो र यहाँ एसिमिलेशन पनि हुनपुग्यो । आजको दिनमा नेवारको नेपालभाषाले आफ्नो भाषिक मौलिकता कायम नै राख्दै दक्षिणका संस्कृतलगायत भाषासँग भिज्दै वर्तमान स्वरूप ग्रहण गरेको छ । भाषाकै माध्यमबाट पनि नेवार इतिहास खोतल्न सकिन्छ, तसर्थ नेवारका लागि नेपालभाषा अत्यन्तै महत्वपूर्ण रहेको छ ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment