Sunday, September 27, 2026 | 11:01 PM

Newa: Culture of celebrating birthdays in the community


अ
अ+
अ-

जन्म दिनको गणनाले धेरै अर्थ राख्छ । यसको महत्व पनि छ । नेवार समाजमा यसले झनै महत्व राख्ने गरेको पाइन्छ । कसको उमेर कति पुग्यो भन्ने गणना मात्रै नभएर यही बेला ज्योतिषीबाट ग्रहदशाको बारेमा जानकारी लिने तथा ग्रहदशा मन्छाउने भनेर अनेक विधिका पूजा गर्ने तथा सतर्क रहने पनि हुन्छ । यही भएर नेवार समाजमा जन्मदिन मनाउने सांस्कृतिक परम्परा रहेको हो । कोही व्यक्तिको जन्मदिन नेवार समाजमा कसरी मनाइन्छ भन्ने कुरा एउटा जिज्ञासाको विषय हो भने, बदलिँदा परिवेशमा त्यो परम्परामा आएको फेरबदल अध्ययनको पाटो हो । यसको मौलिकता के रहेछ भनेर स्वयं नयाँ पुस्तालाई पनि जानकारी दिनुपर्ने भएको छ जुन एक खालको अभिलेखीकरण पनि हो ।  

नेवार समुदाय चान्द्रायनको पात्रो हेरी चन्द्रमाको तिथिअनुसार आफ्नो संस्कार संस्कृतिको परिपालन गर्दछ । जन्मको गणना पनि तिथिअनुसार नै गरेर जन्मदिन मनाउने हुन्छ । नेवार समाजमा छोरा जन्मिएको भए छ महिना र छोरी जन्मेको भए पाँच महिनामा भात खुवाउने भन्ने बेग्लै संस्कार सम्पन्न गरिन्छ । यसै बेला कुनै ज्योतिषीकहाँ गई जन्मपत्रिका लेखाउने छ । यस खालको जन्मपत्रिकालाई ‘जातः’ भनिन्छ । बच्चा जन्मेको महिना, तिथि, बार, तथा समयलगायत  जानकारी दिएपछि ज्योतिषीले हजुरबाजे तथा आमाबाबुको नामसमेत उल्लेख गरी कुन साल, कुन महिना, कुन बार तथा जन्मको समयसमेत उल्लेख गरी उक्त समयमा परेको लग्न, घडी, पलाको उल्लेख गरेर जातः तयार पार्ने गर्दछ । यो जातः घरमा जोकसैले खोलेर हेर्ने तथा पढ्न सकिन्छ तर जातःहरु जोकसैले खोल्न नहुने तथा हलुको रुपमा लिन नहुने मान्यता पाइन्छ । ज्योतिषी कहाँ नै देखाउन लगियो भने ग्रह दशाको पनि जानकारी पाइन्छ भनेर प्रायः ज्योतिषीकहाँ नै लग्ने चलन छ । यसरी ज्योतिषीकहाँ जातः देखाउन लैजाँदा जातःसँग त्यसमा चामल र केही पैसा राखिन्छ र जो व्यक्तिको उसलाई ढोग्न पनि लगाइन्छ । सो चामल जातः हेरिदिएबापत पारिश्रमिकको रुपमा ग्रहण गरिन्छ । कुनै ग्रहदशा छ छैन जानकारी दिनुका साथै जन्मदिन यतियौं दिनपछि भनेर जानकारी दिने काम हुन्छ । 

जन्म दिनको दिन घरमा विहानैदेखि विशेष चहलपहल सुरु हुन्छ । अझ आवश्यक सरजामको व्यवस्था अघिल्लो दिन नै गर्न भ्याइसक्नुको कारण पूजालगायतको काम विहानैदेखि सुरु गरिसक्नुपर्ने भएर हो । अन्य साधारण दिनमा भन्दा यस दिन चोखो गर्ने गरिन्छ । लिपपोट पनि हुन्छ । यस दिनलाई सामान्यतः ‘धौबजि’ बिइगु पनि भनिन्छ । धौबजिको अर्थ दहीचिउरा हो । अझ ‘तिम्रो जन्मदिन कहिले ?’ भनेर सोध्नुभन्दा ‘छंगु धौबजि गबले बिइगु ?’ (तिम्रो दही चिउरा दिने कहिले ?) भनेर पनि सोध्ने गरिन्छ । दहीसँग चिउरा मुछेर अरुलाई खुवाउने परम्पराअनुसार यसरी सोधनी गरेको भनेर बुझ्न सकिन्छ । नेवार समाजमा धौबजिको बेग्लै सांस्कृतिक महत्व रहेको हुन्छ । व्यक्ति विशेषको नाममा धौबजि दिनु भनेको जन्मदिन मनाउने भनेको नै हो । धौबजि अन्य सांस्कृतिक प्रसङ्गमा पनि विशेष महत्व दिई दिने गरिन्छ । 

घरमा चोखो गरिसकेपछि बस्तीको सबैभन्दा ठुलो र महत्वपूर्ण मन्दिरमा पूजा लाने हुन्छ । साथै स्थान गणेशका लागि पनि छुट्टै र अनिवार्य पूजाको व्यवस्था हुन्छ । जन्मदिन परेको व्यक्ति स्वयंम वा सो व्यक्तिको नाममा चामल ढोगाएर मन्दिरमा पुजा गइन्छ । पूजा कार्य सम्पन्न गरी फर्केपछि धौबजि भनेर दहीमा मुछिएको चिउरा मात्रै बाँड्ने होइन । त्यसमा कालो तील पनि मिसाइएको हुन्छ । यसका साथै अघिल्लो दिन नै भिजाइराखेको सानो केराउ, ठुलो केराउ, मुला तथा भए केही फलफूल पनि राखिएको हुन्छ । यसरी नै पैसा पनि राखिएको हुन्छ । धौबजि बाँड्ने काम पिखालखुमा बसेर गरिन्छ । सर्वप्रथम धौबजि ‘पिखालखुद्यः’ भनेर ढोका अगाडिको देवतालाई चढाइन्छ र अनिमात्रै मान्छेहरुलाई वितरण गरिन्छ । उहिले उहिले धौबजि लिनेहरुको लर्को नै लागेको हुन्थ्यो भने जसमा बच्चाहरु मात्रै नभएर ठुलाले पनि लिएर खाने गर्दथे । धौबजि दिने काम सकिएपनि घरपरिवारका सदस्यहरु बैठक कोठामा भेला हुन्छन् र जन्मदिन परेको सदस्यलाई मुलीले सुकुन्दा बाली पूजा गरी सगं दिने गरिन्छ । विगतमा जसको जन्म दिन हो उसले सगंमा पूरे अण्डा पाउँथे र अन्यले आधा वा एक चौथाई अण्डा पाउँथे भने । तर अब आर्थिक हैसियतमा सुधार आएसँगै सबैको भागमा पूरै अण्डा हुन्छ ।  कुनै बेला मान्छेहरु मासु दशैमा र अण्डा जन्मदिन र तिहारमा मात्र खान पाउँथे भन्ने कथनले तत्कालिन सामाजिक तथा आर्थिकस्थितिको चित्रण गर्दछ । 

जन्म दिन मनाउँदा दुई बर्ष पुग्दादेखि एउटा निश्चित उमेरसम्म छोरा वा छोरीलाई योमरिको माला लगाइदिने चलन पनि छ । नेवार संस्कृतिमा योमरि खाद्यवस्तु मात्रै नभएर सुखसमृद्धिको प्रतीक पनि हो । 

हिजोआज शहरी क्षेत्रमा धौबजि बाड्ने प्रचलन हराउँदै गएको पाइन्छ । धौबजि लिन आउनेहरु पनि नभएर यसरी धौबजि बाँढ्ने प्रचलन हराउँदै गएको बुझ्न सकिन्छ । तर पनि विधिपूर्वक परम्परा पु¥याएर जन्मदिन मनाउने भने हराएको छैन । विहान पराम्परागत रुपमा पूरा राखी, मन्दिर जाने तथा सगं दिने आदि सांस्कृतिक क्रियाकलाप सम्पन्न गरेर जन्मदिन मनाई दिउँसो पुनः पश्चिमा संस्कृतिअनुसार बलिरहेको मैनबत्ती निभाउने तथा केक काट्ने चलन बढ्न थालेको छ । 

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
The context of Kirat in the context of Newar

The context of Kirat in the context of Newar

When discussing the history of Kathmandu Valley or Newar, the context of Kirat also comes up. Newar history cannot be ad...

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...

The search for history in the story of Yanya (Indrajatra)

The search for history in the story of Yanya (Indrajatra)

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

When a Newa started insulting a Newar

When a Newa started insulting a Newar

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

Indrajatra: Archaic name of the ancient Yaya

Indrajatra: Archaic name of the ancient Yaya

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्