Monday, September 28, 2026 | 12:21 AM

खोइ कहाँ बिग्रियो र नेवार ?


अ
अ+
अ-

नेवार समाजमा एउटा ताज्जुबको कुरा सुन्न पाइन्छ जुन गैरनेवारले प्रायः सुनेका हुँदैनन् । घटना विशेष र नेवार–नेवार मात्रै रहेको ठाउँमा अलि बाठोबाठो खालको वा आफूमात्र बाठो भन्ठान्ने नेवारले यसरी आफ्‌नो मन्तव्य व्यक्त गरेका हुन्छन्, ‘‘यही भएर त हामी नेवारहरू बिग्रेका हौं ।’’ विशेषतः नेवार–नेवारबीच मतभेद भएको अवस्थामा प्रायः यस्तो बोलिन्छ । र, म सचेत छु र तिमीहरू बिग्रेका छौ, तसर्थ ‘मेरो कुरा तिमीहरूले सुन्नुपर्छ’ भन्ने आसय व्यक्त गर्न वा व्यक्तिगत दम्भ देखाउन पनि यस्तो वाक्य बोल्ने गर्दछन् ।

नेवार एउटै नश्लको नाम होइन । यो धार्मिक समुदाय पनि होइन । सबै नेवारको एउटै ऐतिहासिक पृष्ठभूमि पनि होइन । अझ भनौं, ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, तामाङ, थारु भनेजस्तो यो एउटै समुदायविशेष पनि होइन । नेवारको भौगोलिक पहिचान नेपाल उपत्यका र यसको सेरोफेरो हो । आजभोलि यसलाई काठमाडौं उपत्यका वा काठमाडौं खाल्डो पनि भनिन्छ जसमा काठमाडौं, भक्तपुर, ललितपुरलगायतका वस्तीहरू समेटिएको छ र नेपालको संघीय राजधानी क्षेत्रका रूपमा चिनिन्छ । यहाँको सबैभन्दा पुरानो वासिन्दाको रूपमा लिइन्छ, नेवारलाई । तर यिनीहरू यही भूगोलमा उत्पत्ति भएका होइनन्, भूगोलको कुनै क्षेत्रमा विकास भई एकै पल्ट बसाई सरेर यो उपत्यकामा आएका पनि होइनन् । तर नेवार पहिचानको अत्यन्त प्राचीन परम्परा यो भूमिमा स्थापित भयो र त्यही परम्परामा प्रवाहितहरू नेवार हुन् ।

हामी इतिहासलाई सजिलोका लागि प्राग्‌इतिहास, आद्यइतिहास र इतिहास भनेर कालविभाजन गरेर अध्ययन गर्दछौं । नेपाल उपत्यकाको इतिहासमा नेवारको उपस्थिति तीन वटै कालखण्डमा देख्न पाइन्छ । कोही सुरुमा आएका हुन् भने कोही अलि पछि । कोही निकै पछि मात्रै आएका पनि पाइन्छन् । विभिन्न समयमा विभिन्न ठाउँबाट बसाई सरेर यस उपत्यकामा आएका र रहँदाबस्दा यहीँको समाजमा घुलमिल भएर नयाँ पहिचान बनाएकाहरू सबै नेवार हुन् । यसरी घुलमिल भएर एउटा छुट्टै पहिचान बनाएको समाज वा सभ्यतालाई समाजशास्त्रको भाषामा ‘एसिमिलेशन’ भनिन्छ ।

नेपाल उपत्यकाको रूपमा सदियौं वर्षअघिदेखि प्रख्यात यस भूक्षेत्रमा बसाईसर्दै आउँदा कोही पनि खाली हात आएका थिएनन्, केही न केही ज्ञान–विज्ञान तथा कला र शील्पको कुरा साथमा लिएर आएका थिए । यसरी साथमा लिएका आएका ज्ञान–विज्ञान तथा कला र शील्प यस भूगोल र समाजअनुसार प्रयोगमा ल्याएका हुन् । रहँदा बस्दा नेपाल उपत्यकामा अभ्यास हुने ज्ञान विज्ञान तथा कला र शील्प पनि सिक्छन् । यस प्रकार आफूसँग भएका ज्ञानविज्ञानबाहेक अरु पनि सिक्ने मौका पाउँछन् । एवं रीतले नेपाल उपत्यका र नेवार समाजको विकास भएको हो । यही भएर यस समाजमा अत्यधिक मात्रामा विविधता पाइन्छ तर नेवार पहिचानका लागि भाषा, संस्कार, संस्कृति, कला, जीवनदर्शनले समायोजित गरिएको हुन्छ ।

हिजोका दिनमा प्रतिस्पर्धा नेवार–नेवारबीच हुन्थ्यो र प्रगती गर्दथ्यो । आजको दिनमा इतिहासले कोल्टे फेरेको छ, राजनीतिक भूगोल विस्तृत भएको छ, साथै सामाजिक तथा राजनीतिक जीवनमा अन्य समुदायहरू पनि व्यापक रूपमा समावेश छन् । समग्रमा भन्नु पर्दा नेवार पहिचान लिएर बस्नेहरू मुस्किलले दश–बार्‍ह प्रतिशत हुन्छ । नेवारको पहिचान अब काठमाडौं उपत्यकामा मात्रै सीमित रहेन । अहिले प्रतिस्पर्धाको दायरा व्यापक रूपमा फराकिलो भएर अन्य समुदायसँग पनि प्रतिस्पर्धा गरिरहेका छन् र साथसाथै प्रगति पनि गरिरहेका छन् । यसले आफूलाई हरेक क्षेत्रमा सशक्त रूपमा प्रस्तुत गरिरहेको पाइन्छ । यस अवस्थामा नेवार समुदाय बिग्रिएको भाष्य आफैमा नमिल्दो छ ।

कोही नेवार बिग्रेको वा सप्रेको मान्ने आधार के हो ? कुन मापदण्डलाई आधार मानेर नेवार बिग्रियो वा सप्रियो भन्ने ? यो मापदण्ड तयार पार्ने काम सजिलो छैन । यस्तो अवस्थामा ‘यही भएर हामी नेवारहरू बिग्रेका हौं’ भन्नसक्नु आफैमा प्रश्नको घेराभित्र पर्नु हो । यसमा केही मनोवैज्ञानिक कुरा देख्न पाइन्छ । ‘तिमी सबै नेवारहरू बिग्रेका हौ, किनभने तिमीहरूलाई यो कुरा थाहा नै छैन, मलाई थाहा छ, त्यसैले नबिग्रेको भन्ने म मात्रै हुँ’ भन्नका लागि यस्तो भाष्य बनाउन खोजेको देखिन्छ । सत्य कुरा त के हो भने, आफूमा भएको अहं र भ्रम नजानिँदो पाराले ओकलेको हो ।

नेवारहरू आआफ्नो ठाउँमा संघर्ष गरी अगाडि बढिरहेकै छन् । व्यक्तिगत रूपमा कोही अगाडि कोही पछाडि पर्नु स्वाभाविक हो । राज्यको पूरै संयन्त्र र राज्यनीति नै नेवारविरुद्ध भएको बेलामा पनि नेवारहरूले आआफ्नो क्षेत्रमा रही संघर्ष गरी आफ्नो सशक्त उपस्थिति देखाएकै हो, राष्ट्र निर्माणमा सघाएकै हो । कला क्षेत्रको कुरा गर्ने हो भने, नेवारको आफ्‌नै छुट्टै पहिचान छ । देशभित्रकै तथा देश बाहिरकाले पनि नेवारलाई कला र संस्कृतिमा विशिष्ट समुदाय भनेर गनेको पाइन्छन् । प्राचीन साहित्यको भण्डार नेवारसँग सुरक्षित छ । नेवारले आफ्‌नै भाषामा मात्रै नभएर अन्य भाषामा पनि प्रभुत्व जमाएको पाइन्छ ।

नेवारको मातृभाषा नेपालभाषा हो तर नेवारहरू यही भाषामा मात्रै सीमति भएर रहेनन् । बोलिचालीको भाषाबाट उँभो लाग्न मुस्किलमुस्किल भइरहेको नेपाली भाषालाई स्वाट्टै अगाडि ल्याइदिने अग्रणी व्यक्तित्वहरूमा नेवारको नाम आउँछ र नेवारको योगदानलाई नजरअन्दान गर्नु हदैसम्मको कृतघ्न हुनु हो । नेपाली भाषाको साहित्य सिर्जना, व्याकरणको निर्माण, शब्दकोश, शिक्षण, पत्रकारिता, प्रविधि, प्रकाशन हरेक क्षेत्रमा नेवारको पसिना पर्याप्त मात्रामा बगेको छ ।

नेपाली भाषाको इतिहासमा नेवारको कामलाई नदेख्नु अध्ययन नै नगर्नु हो । यही गौरव नेवारलाई अर्थ, वाणिज्य, राजनीति, प्रशासन, इतिहास, खेलकूद, ज्ञानविज्ञान, धर्म, संस्कृति, परराष्ट्र मामिला, कूटनीति हरेक क्षेत्रमा प्राप्त छ । यो सामुहिक जोडबलले प्रगति गरी नेवारले यो हैसियत काम गरेको होइन । फलाना क्षेत्रमा हाम्रो समुदायको सहभागिता भएन भन्दै समुदाय स्तरमा प्रशिक्षण तथा प्रोत्साहनको कार्यक्रम बनाइरहेको पाइन्छन् तर नेवार समाजमा यस्तो कुराको नितान्त अभाव छ । कोही नेवार डाक्टर बनेको छ भने त्यसको लगानी तथा मेहनत परिवार तथा व्यक्तिविशेषको हुन्छ । कोही इन्जिनियर बन्छ भने त्यो पनि व्यक्ति तथा परिवारविशेषको लगानी हो । प्रगतिको यो प्रवृत्ति संस्कारको रूपमा आएको पाइन्छ । यस्तो गरी अगाडि बढ्न सक्ने नेवारलाई बिग्रेको भनी साधारणीकरण गर्नु हदैसम्मको हचुवा काम हो ।

नेपालको मूलधारको इतिहास भनेर काठमाडौं उपत्यका र वरिपरिको भूक्षेत्रको इतिहासलाई लिनुको अर्थ सुदूर अतीतदेखि अहिलेसम्म अटूट रूपमा प्रवाहित हुनु हो । अन्यत्र टुटेको वा हराएको पाइन्छ, सिलसिलेवार रूपमा अध्ययन गर्न सामग्रीहरूको अभाव हुन्छ । यस अवस्थामा काठमाडौंको इतिहासलाई आधार मानेर अन्यत्रको इतिहास अध्ययन गर्नु स्वाभाविक हो । भौगोलिक अवस्थितिले पनि नेवारलाई साथ दिएकै मान्नु पर्दछ ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
Basanta Maharjan

More from Basanta Maharjan

Explore more articles by this author
The context of Kirat in the context of Newar

The context of Kirat in the context of Newar

When discussing the history of Kathmandu Valley or Newar, the context of Kirat also comes up. Newar history cannot be ad...

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...

The search for history in the story of Yanya (Indrajatra)

The search for history in the story of Yanya (Indrajatra)

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

When a Newa started insulting a Newar

When a Newa started insulting a Newar

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

Indrajatra: Archaic name of the ancient Yaya

Indrajatra: Archaic name of the ancient Yaya

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

होस/बेहोस (लघुकथा)

होस/बेहोस (लघुकथा)

मदिरालयमा बडो मज्जाले मदिरापान गरेको थिएँ । त्यही भएर बाहिर निस्कँदा......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्