नारायणी नदीमा खतराको तह पार, आज बेलुकासम्म जोखिम कायमै
असोज ११, चितवन । पछिल्लो १२ घण्टामा गण्डकी जलाधार क्षेत्रमा भएको भारीदेखि अति भारी वर्षापछि नारायणी नदीमा जलसतह बढेर खतराको तह पार गरेको छ। देवघाटस्थित मापन केन्द्रमा आइतबार बिहान ५ः२० बजे नदीको जलसतह ९.९५ मिटर पुगेको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जल विज्ञान तथा मौसम विज्ञान अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले बिहान जारी गरेको विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिनअनुसार देवघाटमा नारायणीको खतराको तह ९ मिटर हो। नदीको जलसतह अझै बढ्दो क्रममा रहेको र आज बेलुकासम्म उच्च जोखिम कायम रहने जनाइएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार कास्की, म्याग्दी, तनहुँ, चितवन, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङलगायत गण्डकी जलाधारका क्षेत्रमा पछिल्लो १२ घण्टामा भएको भारीदेखि अति भारी वर्षाका कारण नारायणीको बहाव उल्लेख्य बढेको हो। माथिल्लो क्षेत्रमा अझै वर्षा भइरहेकाले जोखिम आज बेलुकासम्म रहने उनले बताएका छन्।
बाढी पूर्वानुमान महाशाखाले देवघाटमा नारायणी नदीको जलसतह आज दिउँसोसम्म करिब १३ मिटर पुग्न सक्ने अनुमान गरेको छ। आज साँझसम्म जलसतह खतराको तहभन्दा माथि रहने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ।
पश्चिम चितवनको माडी र मेघौली क्षेत्रमा भएको भारी वर्षाका कारण रिउ तथा राप्ती नदीको बहावसमेत बढेको छ। त्यसको प्रभाव नारायणी नदी आसपासका क्षेत्रमा थप जोखिम बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्।
विशेष गरी चितवन तथा पूर्वी र पश्चिम नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढीको जोखिम उच्च रहेको जनाइएको छ। नदी किनार, तटीय क्षेत्र, पुल तथा कमजोर तटबन्ध आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले नारायणीसँगै कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बूढीगण्डकी तथा त्रिशूली नदी र तिनका शाखा खोलानालामा समेत आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायबाट जारी हुने सूचना र निर्देशन पालना गर्न पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले आज बारा, पर्सा, रौतहट, सर्लाही, काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, अर्घाखांची, प्युठान, दाङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया, बाजुरा, अछाम, डोटी, बझांङ, दार्चुला, बैतडी, डडेलधुर, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिमको सम्भावना उल्लेख गरेकाे छ।
साथै रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (Flash Flood) को उच्च जोखिमको सम्भावना रहेकाे जनाएको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment