चक्रवात ‘मोन्था’ को प्रभावले नेपालमा विहीबारदेखि शनिबारसम्म भारी वर्षा र बाढीकाे जाेखिम
काठमाडौं, कार्तिक ११ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले आगामी बिहीबारदेखि शनिबारसम्म नेपालको विभिन्न भागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
विभागको ताजा पूर्वानुमान अनुसार, चक्रवात मोन्था भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेपछि कमजोर हुँदै उत्तर-पश्चिम दिशातर्फ सर्दै नेपालको मध्य भाग नजिक आइरहेको छ। यसको प्रभावले विभागले १३ गते बिहीबार दिउँसोदेखि फागुन १५ गते शनिबार बिहानसम्म बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने देखिन्छ।
विभागले आज दिउँसाे एक विज्ञप्ति जारी गर्दै बागमती, कमला, कोशी र कन्काई नदी तथा यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने र सतर्कता तह नजिक पुग्न सक्ने जनाएको छ। साथै कोशी, बागमती र मधेश प्रदेशका साना नदीनालाहरूमा आकस्मिक बहाव आउने सम्भावना रहेको उल्लेख गरेकाे छ।
विभागका अनुसार उच्च जोखिममा रहेका जिल्लाहरूमा बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली; मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी; र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेहथूम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्लामा आकस्मिक बहावको सम्भावना उच्च रहेको छ।
विभागले सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) र SMS मार्फत अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
Comments (0)
No comments yet
Be the first to comment!
Write a Comment