१३ असोज २०८३, मंगलबार

गौतम बुद्ध : जे छु, ठिकै छु भन्नेहरुलाई बिथोल्ने


अ
अ+
अ-

बौद्ध धर्मदर्शनको एउटा ‘बटमलाइन’ हो, सारा प्राणी दुःखमा छ, दुःखको कारण छ, दुःखको अन्त्य गर्न सकिन्छ र अष्टाङ्गिक मार्गलाई अंगिकार गरेर दुःखको अन्त्य गर्न सकिन्छ । 

यसै सन्दर्भमा नेपाली साँगीतिक क्षेत्रमा निकै चर्चित एउटा गीत यहाँ उल्लेख गर्नु प्रासंगिक हुन्छ । उक्त गीतको बोल हो, ‘मलाई नसोध कहाँ दुक्छ घाउ, म जे छु ठिर्कै छु बिथोल्न नआउ’ । हरिभक्त कटुवालको रचना तथा नारायण गोपालको गायन रहेको यो गीतले बोकेको भावलाई नै जीवनदर्शन बनाउनेहरुलाई संभवतः बुद्ध र बौद्ध धर्मदर्शनको उक्त बटमलाइन पच्दैन र रुच्दैन । बुद्धका शिक्षाहरुले आफूलाई बिथोलेको भन्ठान्छन् । तर बुद्धका अनुसार बिथोल्नुपर्ने उनीहरुलाई नै हो । बौद्ध धर्मदर्शनको आवश्यकता बढी उनीहरुलाई नै हो । 

राजा सुद्धोदनका छोरालाई नपुग्दो के थियो र ? तर घरवार छाडेर अनेक ठाउँमा गई आध्यात्मिक ज्ञानको खोजीमा लागे । र, अन्ततः पैतीस वर्षको उमेरमा बोधिलाभ गरी बुद्ध बने । यो त एक जन्मको कुरा भयो, अत्यन्त सुदूर पूर्वजन्ममा उनी सुमेध नामका तापषी ऋषि थिए । त्यही बेला उनको ज्ञानको स्तर कतिसम्म पुगिसकेको थियो भने, अर्हत्व लाभ गरी अर्हत् भई जन्म र मृत्युको भवचक्रबाट छुटकारा पाउन सक्थे । तर अरु सत्वप्राणीप्रति मनमा अत्यन्तै करुणा भाव जागेर अर्हत् हुने अवस्थालाई स्थगत गरी बोधिचर्यातिर लागे । बोधिचर्यातिर लाग्नु भनेको बोधिसत्व हुनु हो । बोधिसत्वहरुको आदर्शभन्नु अरुको हितसुखका लागि आफू समर्पित हुनु हो । यसका लागि मृत्युवरण गर्न नै किन नपरोस् । अरुका लागि दुःखकष्ट उठाउनु परेपनि बोधिसत्वले केही कष्ट महसूस गर्दैनन् बरु खुसी खुसी जीवन नै अर्पण गर्दछन् । बुद्ध बन्नका लागि पूरा गर्नुपर्ने पारमिताहरुमा यस्तो अभ्यास गरिन्छन् । यस्तो दुसाध्य जीवन बोधिसत्वले अनेकौं जीवनमा जिउँदै अन्ततः गौतम बुद्ध बनेका हुन् । बोधिसत्व वा बुद्ध बन्नु भनेको दुःखमा परेका प्राणीहरुको उद्धारका लागि हो । यस अवस्थामा दुःखमा परेका प्राणीले आफू जे छु, ठिकै छु, बिथोल्न नआउ भन्दैमा बिथोल्न नजाने होइन, बिथोल्न जाने नै हो । दुःखमा परेकालाई बिथोल्नु भनेको दुःखको दलदलबाट निकालेर सुख दिनु हो । 

पूर्वीय दर्शनहरुको ध्येय दुःखको व्याख्यामा छ । प्रायःले दुःखको अन्त्य कसरी गर्ने भन्ने विषयमा नै चिन्तन गर्दछ । कसरी गर्ने भन्ने सवालमा अनेक उपायहरु दिइएका छन् र ती उपायहरु नै विभिन्न नामका दर्शन हुन् । यही दर्शनलाई धर्म पनि भनिएको छ । तिनैमध्ये एक हो, गौतम बुद्ध र उनको धर्म । बुद्ध भन्नु जागृत अवस्था हो अर्थात् दुःखलाई देखिसकेका, दुःखबाट छुटकारा पाइसकेका । गौतम बुद्धले चतुआर्यसत्यको उपदेश दिएका थिए, यसलाई चार आर्यसत्य पनि भनिन्छ । यो भनेको जीवनमा दुःख छ, दुःखको कारण छ, दुःखको अन्त्य गर्न सकिन्छ र अष्टाङ्गिक मार्गलाई अंगिकार गरेर दुःखको अन्त्य गर्न सकिन्छ । भौतिक तथा मानसिक तवरमा मन परेको कुरा नपाउनु दुःख हो भने पाएको कुरा गुमाउनु पनि दुःख नै हो । एउटाले पुगेर अर्को नपाउने पनि दुःख नै हो भने दोस्रो पाएर पनि तेस्रो नपाउनु दुःख नै हो । वास्तवमा यो भनेको तृष्णा हो । तृष्णाको वसमा अनेकौं सोचविचार तथा काम गरिरहेका हुन्छौं जसले संस्कारको निर्माण गर्दछ र यही संस्कारले प्राणीलाई अनेकौं दुःखको भुमरीमा राखीदिन्छ । यो भनेको एउटा जीवनमा जन्मदेखि मृत्युसम्म भोग्नु पर्ने दुःख र पुनर्जन्महरु हो । दार्शनिक तवरमा दुःख भनेको फेरि फेरि जन्म लिनुपर्नेलाई पनि दुःख नै भन्छि । बुद्धको शिक्षाको मूल उद्देश्य भन्नु त्यही दुःखको अन्त्य गर्नु हो । 

जीवन दुःखमय छ भनेर हामी बुझ्न नै सकिसकेका हुँदै्रनौं । दुःखमय छ भने हजारौं लाखौं पल्ट सुनिसक्दा पनि त्यसलाई बोध गर्न सकिरहेका हुँदैनौं । सुनिरहेका मात्र होइन, जीवन दुःखमय छ भनेर हजारौं लाखौं पल्ट अरुलाई बुझाइराख्दा पनि स्वयंले बोध गर्न सकिरहेका हुँदैनौं । यही बोध गर्न नसक्नु नै हाम्रो समस्या हो । अझ कतिसम्मभने, जीवन सुखमय भएको भन्ठान्नेहरु पनि हुन्छन् । वा दुःखमा यति अभ्यस्त भइसकेका हुन्छन् कि, दुःखलाई यस्तै त हो भन्ठानेर स्वीकार गरिरहेका हुन्छन् । अथवा, मन नपर्ने दुःखलाई स्वीकार गरी ‘मेरो यो जिन्दगीमा सँधैं यो उदासी, सकेकै छु जिउन कहिल्यै नहाँसी’ भनिरहेका हुन्छन् । र जीवन जिउने क्रममा अनेक अनुभव र अनुभूति गरेका हुन्छन् । र, यसरी अभिव्यक्ति दिन पुग्छन्, ‘मेरो चाहना हो तिमी हाँसे पुग्छ, मेरो घाउ तिमी नहाँसे पो दुख्छु, त्यसैले म भन्छु तिमी मुस्कुराउ’ ।

आधुनिक मनोविज्ञानअनुसार मन अनेक तहमा हुन्छन् । मनका अनेक तहहरुको व्याख्या त गौतम बुद्धले नै अभिधम्ममा गरिसकेका छन् । मनको विश्लेषण गर्नमा आधुनिक मनोविज्ञानको उपलब्धी बुद्धको व्याख्यामध्ये थोरैमा मात्र पुग्न सकेको हो । त्यही अनुसार पनि अचेतन मन भनेको राग, द्वेष, मोह, कुण्ठा आदिको भण्डार हो । यो अचेतन मन कुनै कुनै बेला प्रकट हुन्छन् । त्यही प्रकट हुने बेलाको स्थितिबारे गीतमा भन्छ, ‘कतै विरानीमा हराएँ भने म, कतै बेहोसीमा कराएँ भने म, मेरो प्राप्ती त्यही  त्यति थाने पुग्छ’, र पुनः भन्छ, ‘मेरो घाउ तिमी नहाँसे पो दुख्छ, अँध्यारोमै छोड दियो, नजलाउ’ । 

दुःखमा अभेष्ट अथवा दुःखको अनुभूति नै नभएकालाई आफू सुखी रहेको भ्रम हुन्छ । यस अवस्थामा उसलाई कुनै डिस्टर्भ मन नपर्नु स्वाभाविक हो । तर सुखीलाई भने यस अवस्थामा करुणा भाव जाग्ने हुन्छ । गौतम बुद्ध सुखी तथा महाकारुणिक हुन् । कसलाई कहाँ घाउ दुखेको छ, उनी थाहा पाउँछन् र मलाई नसोध कहाँ दुःख घाउ भनेर यथास्थितिमा बस्नेहरुलाई पनि यथास्थितिमा रहन दिन्नन् । 

Comments (1)

एल बी मगर Sep 6, 2026 00:14
पक्कै पनि गीत संगीत भावना कै अभिव्यक्ति हुन् तर कस्तो र कुन भावले उसलाई छुन्छ भन्ने हो ताकी उसले मिठास साथ ग्रहण गरोस l सबैको चाहना यौटै नभएर फरक फरक भएकै कारण फरक अवस्थाको भावलाई जसले जति बेला छुन्छ उ प्रचलित भै हाल्छ l आखिर तेही न चाहिएको हो नकी सबैको निम्ति सिर्जित नै गरिएको हो
Write a Comment
Comment must be at least 10 characters
बसन्त महर्जन

अन्य लेखहरू: बसन्त महर्जन

यस लेखकका अन्य रोचक लेखहरू
नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्यमा महाकवि सिद्धिदास अमात्यको स्थान

नेपालभाषा साहित्य क्षेत्रका लेखक, कवि, कलाकार तथा भाषासेवीहरू प्रत्येक वर्ष यँलागा द्वितीयाको दिन विहान एक ठाउँमा भेला ह...

नेवारको सन्दर्भमा किराँतको प्रसङ्ग

नेवारको सन्दर्भमा किराँतको प्रसङ्ग

काठमाडौं उपत्यका वा नेवारको इतिहासमाथि चर्चा गर्दा किरातको प्रसङ पनि सँगसँगै आउँछ । किराँतलाई उपेक्षा गरेर नेवार इतिहासल...

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

‘सम्हय् बजि’ को सांस्कृतिक तथा दार्शनिक अर्थ

नेवार समाजमा प्रचलित ‘सम्हय् बजि’लाई विभिन्न परिकारसहितको नेवार खाजा सेट भन्ने अर्थमा मात्र बुझ्नु वास्तवमा यसबारे केही ...

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

यँयाः (इन्द्रजात्रा)को कथामा इतिहासको खोजी

प्रायः सोचिरहेको हुन्छु, इतिहास कसरी हराउँदै जान्छ र मिथकका रुपमा कथा कहानीहरू किन बढ्दै जान्छ ? हिन्दू धर्मका पुराणहरूम...

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

नेवाःले नेवारलाई गाली गर्न थालेपछि

कतिपय नेवारलाई के लाग्छ भने, आफूहरु नेवाः हो, नेवाः नै भन्नुपर्छ । गैर......

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा : प्राचीन यँयाःको अर्वाचीन नाम

इन्द्रजात्रा नाममा प्रसिद्ध सांस्कृतिक उत्सवलाई नेवार भाषामा यँयाः......

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9843580653
Developerसँग सम्पर्क गर्नुहोस्